काठमाडौँ। धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयप्रति आपत्ति जनाएको छ ।
गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले साउन १ गतेबाट लागु हुने गरी नेपाल सरकार अन्तर्गत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम विमित सेवाग्राहीहरूलाई प्रथम सेवा केन्द्रको रूपमा नभई रिफरल सेन्टरको रूपमा मात्र सेवा प्रदान गर्ने निर्णयप्रति धरानका नागरिकलाई स्वास्थ्य बीमाबाट वञ्चित गराउन खोजिएको भन्दै आपत्ति जनाएको हो ।
मेयर हर्क साम्पाङ,उपमेयर अईन्द्र विक्रम बेघा, वडाध्यक्षहरूलगायत कार्यपालिका सदस्यहरूले घोपालाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट नहटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले तत्काल सच्याउन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,’ वीपीको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा मार्फत उपचारका लागि आउने बिरामीहरूले हाल प्रथम सेवा विन्दुबाट आवश्यक स्वास्थ्य उपचार गराइरहेकोमा रिफरल सेन्टर भनी सूचिकृत गरिदा धरानमा अन्य कुनै पनि प्रथम सेवा विन्दु प्रदायक सरकारी स्वास्थ्य संस्था नभएको अवस्थामा यस उपमहानगरपालिकाका नागरिकहरूले धरान बाहिरका नगरपालिकाहरूमा रहेका प्रथम सेवा विन्दु अस्पतालहरूबाट रिफर ल्याइ उपचार गराउने झन्झटिलो बाध्यकारी निर्णय तुरुन्त सच्चाउन अनुरोध गर्दछौँ ।’
स्वास्थ्य बीमा कार्यक्रमबाट सर्वसाधारण, गरिब, विपन्न, जेष्ठ नागरिक, महिलाहरूलाई प्रत्यक्ष लाभ पुगेको बताउँदै घोपालाई स्वास्थ्य बीमा बोर्डले रिफरल सेन्टरको रूपमा मात्र सूचीकृत गरेकोले नगरवासीको स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने हुँदा यस्तो अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।








