काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
मंगलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई शपथ गराउँदै मन्त्री अधिकारीले यसमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
विगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरूले माग गर्दै आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियामक निकाय गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरू समाधान हुने मन्त्री अधिकारीले विश्वास लिएको बताए । मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गर्दै समस्याग्रस्त सहकारीहरूको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाएका छन् ।
कर्जा असुली न्यायाधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्यअनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीले शपथग्रहण गराएसँगै नवनियुक्त अध्यक्ष डा। खगराज शर्माले आजैबाट कार्यभार सम्हालेका छन् । शपथग्रहण समारोहमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्राधिकरणका पदेन सदस्यहरू, मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।







