काठमाडौँ। काभ्रेमा कतिपय सवारी चालकले लागू पदार्थ सेवन (गाँजा) गरेर सार्वजनिक सवारी चलाउने गरेको पाइएको छ ।
यात्रुवाहक बस, ट्रिपरसहित अन्य साधनका चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको हो ।
सडक सुशासन तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानका साथ जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले सयुक्त रूपमा बनेपा-पनौती सडकको धनेश्वर क्षेत्रमा लापसे तथा लाइसेन्सको चेकिङ गरेको थियो ।
सार्वजनिक, मालवाहक तथा निजी सवारी साधनका ४० जना चालकको लागू पदार्थ सेवन चेकजाँच गर्दा ८ जनाले लागू पदार्थ प्रयोग गरेर सवारी चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार ८ जनामा ६ जना पनौती-काठमाडौँ चल्ने बसका चालक रहेका छन् भने ट्रिपर चालक र सुमो चालक एक(एक जना रहेका छन् ।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यम कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।







