काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाउन गृह मन्त्रालयले ४४ जना शाखा अधिकृतलाई अध्यागमन विभागमा खटाएको छ।
हालै लोक सेवा आयोगबाट सिफारिस भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन गरिएका नयाँ अधिकृतहरूलाई गृह मन्त्रालयकै माग अनुसार केही दिनअघि सरुवा गरेको थियो।
तीन दिने प्रारम्भिक तालिमपछि उनीहरूलाई अध्यागमन विभागमार्फत विमानस्थल कार्यालयमा खटाइएको हो।
विवादास्पद रहँदै आएको विमानस्थल अध्यागमन पछिल्लो समय भिजिट भिसा प्रकरणका नाममा आलोचित बनेको छ। यसै सन्दर्भमा अवधि समाप्त भएका र पटक–पटक त्यहीँ कार्यरत रहेका पुराना अधिकृतलाई फिर्ता बोलाई, नयाँ अधिकृतलाई खटाउन लागिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवालाई बिबादरहित बनाउन भन्दै लोक सेवा आयोग र स्टाफ कलेजको मेरिटलाई आधार मान्दै क्रमसंख्या एकदेखि ४४ जनाको सूची पठाइएको छ ।








