काठमाडौँ । अध्यागमन विभागका नवनियुक्त महानिर्देशक रामचन्द्र तिवारीले विभागको समग्र छविमा आमूल सुधार गर्दै पूर्ण रूपमा सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धता जनाएका छन्।
महानिर्देशक तिवारीले आज मध्यान्ह कालिकास्थानस्थित विभागको कार्यालयमा पद बहाली गरेका हुन्। सोही अवसरमा तत्कालीन महानिर्देशक गोविन्द प्रसाद रिजालको बिदाइ गरिएको छ ।

पद बहाली कार्यक्रममा बोल्दै तिवारीले अध्यागमन विभागप्रति आम जनमानस तथा अन्तर्राष्ट्रिय समुदायको विश्वास मजबुत बनाउने गरी कार्यशैली परिवर्तन गरिने बताए। उनले भने, “अध्यागमनको इमेज सुधार गरी पूर्ण रूपमा सुशासनको प्रत्याभूति गराउने छु। राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय स्तरमा विभागको विश्वसनीयता बढाउने गरी काम अघि बढाउँछु।”
महानिर्देशक तिवारी गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाबाट केही दिन अघि मात्र अध्यागमन विभागमा सरुवा भएका थिए। उद्योग विभागको महानिर्देशक हुँदै सुनसरीको प्रमुख जिल्ला अधिकारी भई सकेका तिवारी गृहको शान्ति सुरक्षा महाशाखा भएर कालिकास्थान पुगेका हुन् ।
पद बहाली समारोहमा विभागका उच्च अधिकारी, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा पूर्वमहानिर्देशक रिजाललाई धन्यवाद ज्ञापन गर्दै तिवारीले आफ्नो कार्यकालमा नीतिगत सुधार, प्राविधिक सुदृढीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा प्राथमिकता दिने उल्लेख गरे।
नयाँ नेतृत्वसँगै यसअघिका सुधार योजनाहरूको निरन्तरतासँगै यसपछि थप सुधारसहित विभागको सेवा प्रवाह र निगरानी प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ।








