काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज भेटेका छन् ।
लिङदेनले उपप्रधान तथा गृहमन्त्री भइसकेका र राष्ट्रिय दलको अध्यक्ष रहेका व्यक्तिलाई रोजेको कारागारमा बस्न नदिएको विषय न्यायोचित नभएको जनाएका छन् ।
‘यो तहको मान्छे थुनामा रहँदा, र मेरो पायक पर्ने ठाउँमा, मलाई सहज हुने ठाउँमा जान पाउँ भनेर माग्दा पनि बेवास्ता गरिएको उहाँमार्फत नै पाएँ, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेको मान्छेलाई तपाईँको रोजाई कहाँ हो भनेर सोध्नुपर्नेमा मागेको स्थानमा समेत जान नदिइनु राम्रो सन्देश होइन, यसप्रति विशेष ध्यान जानुपर्दछ’, उनले भनेका छन् ।
अध्यक्ष लिङदेनले अरु विषयमा अहिले केही टिप्पणी नगर्ने जनाएका छन् ।
सोमबार मानव अधिकार आयोगको टोलीसँग पनि लामिछानेले यही विषयलाई प्रमुखताका साथ उठाएका थिए । उनले अदालतबाट समेत कारागार सार्ने स्वीकृत हुँदा सरकारले रोकेको जनाएका छन् ।







