काठमाडौँ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला अदालत ललितपुरमा आइतबार आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो।
केही दिन अघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय ललितपुरमा बुझाएको थियो। उक्त प्रतिवेदनको आधारमा सरकारी वकिलले मुद्दा दायर गरेको हो।
आठ जना मध्ये तीन जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेमा ज्योतिबहादुर भण्डारी, उनका सहयोगीहरू सुवास खत्री र सुरेश अधिकारी छन्।
त्यसबाहेक ज्योति गुरुङ, कुम्भराज गुरुङ, विजयकुमार राई, प्रदिप भन्ने प्रितम अधिकारी र अर्जुन अराम फरार छन्। ज्योति गुरुङ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्।
सिआइबीले गरेको अनुसन्धानबाट गुरुङको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ।
सिआइबीले अनुसन्धानबाट ठगीसँगै लिखत सम्बन्धी कसुर, क्रिप्टोकरेन्सी, नेपाल राष्ट्र बैंक र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो।
सहकारीको २०८१ साल असोज मसान्तसम्म साँवा र ब्याज गरी १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँको बिगो माग दाबी गरेको छ।
यसबाहेक ३३ करोड ११ लाखको पार्सल पठाएको र सो पार्सल निकाल्न कमिसन लाग्ने भनेर पटक पटक गरी थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेका थिए।
यसरी ठगी मात्रै १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ बिगो कायम गरेको छ।
हुण्डी कारोबार तर्फ ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ बिगो कायम गरेको छ।







