काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवसहित ६९ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत २५ उपसचिव र ४४ जना शाखा अधिकृत स्तरका कर्मचारीलाई सरुवा गरेको हो ।
यसरी सरुवा गरिएका उपसचिव तथा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको छ भने प्रमुख प्रशासकीय अधिकृतहरूलाई विभिन्न मन्त्रालयहरूमा पठाएको छ ।
कर्मचारीको सरुवा व्यवस्थित बनाउने उद्देश्यले मन्त्रालयले महिनामा दुई पटक-१ गते र १५ गते मात्र सरुवा गर्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय नियम लागू भएको मितिदेखि नै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।
यस्तै, कार्यालय समयमा सरुवासम्बन्धी सूची सार्वजनिक गर्न नसकेको देखिन्छ। प्रायः निर्णयहरू राति नै गरिने गरेको भन्दै कर्मचारीहरूले यसलाई आशंका र अविश्वासका रूपमा लिएका छन्।
हालसालै नवनियुक्त मन्त्री भगवती न्यौपानेले अनियमिततालगायत कर्मचारीबाट हुने कुनै पनि गल्ती स्वीकार्य नहुने स्पष्ट पार्दै सुशासनमा जोड दिएकी छिन्। मन्त्रालयमा लामो समयदेखि विवादित रहँदै आएको कर्मचारी सरुवालाई उनले कसरी व्यवस्थापन गर्छिन् भन्ने कुराले मात्रै मन्त्रालयको भनाइ र गराइबीचको भिन्नता प्रष्ट पार्नेछ।







