काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिकशास्त्र विभागको आयोजनामा तथा तीनवटै ट्रेड युनियनहरूको सहभागितामा सोमबार “तीज विशेष कार्यक्रम–२०८२” सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै कुलपति भूपाल राईले तीजलाई विभेद, अन्धविश्वास र विकृतिबाट मुक्त गर्दै महिला मुक्ति र भ्रष्टाचारविरुद्ध चेतना फैलाउने पर्वका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले तीजलाई केवल रमाइलोको पर्व मात्र नभई असमानता र अन्यायविरुद्ध प्रतिरोधको स्वरूपमा मनाउनुपर्ने धारणा राखे ।
प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले तीजलाई सामाजिक सम्झौता र मेलमिलापको पर्व भन्दै पितृसत्तावादविरुद्ध महिला समानताका लागि प्रयोग गर्नुपर्ने बताए । डा. कौशिला रिसालले तीजसँग जोडिएका अन्धविश्वास र विकृतिलाई हटाएर महिला स्वतन्त्रता र पारिवारिक पुनर्मिलनसँग जोड्नुपर्नेमा जोड दिइन् ।
साहित्यकार सीता शर्मा, डा. प्रतिभा पुन र डा. चूडाप्रसाद ढकालले “तीज गीत र पर्व” विषयमा कार्यपत्र प्रस्तुत गर्दै तीजलाई विचार र चेतनासँग जोड्नुपर्ने, अन्धविश्वास र तडकभडकले बढाएको असमानताबाट मुक्त गरिनुपर्ने धारणा राखे ।
कार्यक्रममा अन्य पदाधिकारी र कर्मचारी प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन राधा कार्कीले गरेकी थिइन् ।







