काठमाडौँ । नेपाल शाकाहारी संघको आयोजनामा ‘अहिंसा महोत्सव नेपाल’ हुने भएको छ । महोत्सवको तयारी भइसकेको आयोजकले जनाएको छ ।
महोत्सव आगामी बिहीबार देखि शनिबार (भदौ १४) गतेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने आयोजकले जनाएको छ ।
‘करुणाले जोड्छ’ भन्ने नारा रहेको महोत्सवमा सबैका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल, पृथ्वी/वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवर्द्धनार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको प्रवर्द्धनका लागि गत शनिबार दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने पशुमुक्ति अभियन्ता, संघसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको आयोजकले जनाएको छ ।
कार्यक्रमको सहआयोजकमा काठमाडौँ एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज, वल्र्ड भिजन अर्गनाइजेसन रहेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







