काठमाडौँ। प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताएकी छन् । सबैका रुचि अलग अलग भएकोले आफ्नो रुचि अनुसारको काम गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले पोलिटिक्समा सफल मान्छेलाई मात्र सफल मान्ने समाजको मानसिकताले धेरै मानिसलाई राजनीतितिर आउन प्रेरित गरेको उनले बताइन् ।
‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ’, शाक्यले भनिन्, ‘अरु क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ । तर त्यस्तो होइन ।’
शाक्यले युवा संघले समाजमा रहेको विकृति र बिसंगतीका विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताइन् । समाजमा फैलिएका नकारात्मकतालाई अन्त्य गर्न पनि युवा संघको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । ‘समाजमा असंख्य रूपमा फैलिरहेका नकारात्मकता र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति छ’, शाक्यले भनिन्, ‘ कसैले प्रगति गरेको हेर्न नचाहने ईर्ष्या र डाहा गर्ने प्रचलन बढेको छ । यो समाजको उन्नतिका लागि राम्रो होइन ।’
अहिले धेरै मान्छेको मुखमुखमा युवाले पाउनु पर्दछ भन्ने आफूले सुनेको उनले बताइन् । युवा भनेको वर्तमान र भविष्य समेत भएकोले उनीहरूले सचेत र विवेकशिल भएर काम गरे भने देशलाई पनि योगदान हुने शाक्यको भनाइ छ ।
‘तपाईँहरू आजको वर्तमान र भोलिको भविष्य हो । तपाईँहरू राम्रो बाटोमा लाग्नु भयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ । वर्तमान पनि राम्रो हुन्छ’, युवा संघका नेता कार्यकर्तालाई सम्बोधन गर्दै शाक्यले भनिन्, ‘ तपाईँहरू बिग्रनु भयो ,बरालिनु भयो भने हाम्रो वर्तमान पनि राम्रो हुँदैन,हाम्रो भविष्य पनि राम्रो हुँदैन ।’







