काठमाडौँ। वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली बजार नगरपालिका-१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका-१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।
पक्राउ पर्नेमध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ लिई ठगी गरेको आरोप छ ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौँ महानगरपालिका-९ बाट र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







