काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ। पार्टी केन्द्रको निर्देशन अनुसार देशव्यापी विरोध प्रदर्शनमा उत्रिएका हो।
आज जसपा नेपालको नेवा: राष्ट्रिय समितिले विधेयकविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ। भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने रहेको जसपाको निष्कर्ष छ।
वन जंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने भन्दै सुरुदेखि नै जसपा नेपाल यो विधेयकको विपक्षमा रहेर विरोध गर्दा आइरहेको छ । यो विधेयक अहिले संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भइसकेको छ।
वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ भन्ने अभियानका साथ १५ गतेसम्म विरोध प्रदर्शन गर्ने तय भएको छ।







