काठमाडौँ । अमेरिकाको मिनियापोलिसस्थित क्याथोलिक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सीबीएस न्युजका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
किन्डरगार्टनदेखि आठ कक्षासम्मका विद्यार्थीहरूले प्रार्थना गरिरहेका बेला गोली चलेको थियो । गभर्नर वाल्जले यो आक्रमणलाई ‘भयानक हिंस्रक कार्य’ भनेका छन् ।
अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार सेमी अटोमेटिक हतियार बोकेर आएका व्यक्तिले गोली चलाएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् ।
आक्रमणकारी नै मारिएकाले अब थप खतरा नरहेको अधिकारीहरूको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनामा दुस्ख व्यक्त गर्दै चुस्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
अमेरिकामा हतियार सजिलै किनबेच गर्न पाइने भएकाले गोलीकाण्डका घटना सामान्यजस्तो हुँदै गएका छन् । त्यसैले बेलाबेलामा कडा कानुनको मागसमेत उठ्दै आएको छ ।







