काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको अर्थतन्त्र सीमित व्यक्तिको हातमा पुगेकाले अहिलेको संकट आएको र यो सजिलै समाधान हुन नसक्ने जनाएका छन् ।
बुटवलमा बिहीबार आयोजित वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गणतन्त्रमा यस्तो अर्थतन्त्रको कल्पनासमेत नगरिएको बताए ।
‘नेपालको सबै अर्थतन्त्र सीमित व्यक्तिको हातमा गयो, हिजो अधिकारको लागि लड्ने सबै अहिले यसको उपलब्धिको फाइदा उठाउने सीमित घराना भए, मुठीभरमा गयो अर्थतन्त्र, मुठीभरका मान्छेले बोनस बाँडेका छन् धेरै नेपालीको चुलो बल्न सकेको छैन, आखिर हामीले लडेर ल्याएको व्यवस्थामा यस्तै अर्थतन्त्रको कल्पना गरिएको थियो ? अब सोच्नुपर्दैन ?’ उनले भने–‘गणतन्त्रअनुसारको आर्थिक ढाँचा कस्तो हो ? अब पनि चेतेनौ भने अझै संकट बढ्दै जानेछ ।’
‘विप्लव’ले देश बनाउन दिग्भ्रमबाट दिग्दर्शन चाहिएको जनाएका छन् । ‘एउटा वर्गले नेतृत्व कायम गरेर हुँदैन, यसरी सबै क्षेत्रमा संकट आउँछ । जनतालाई बाटो देखाउने काम कसले गरेको हो त्यो प्रष्ट हुनु जरुरी छ ।’ उनले भनेका छन् ।
‘गणतन्त्रले कुन वर्गको भनेर छुटाउन सकेन । गणतन्त्रसम्मको व्यवस्था ठिक थियो त्यसलाई कार्यान्वयन गराउने विषयमा संकट आयो । गणतन्त्रभन्दा पछाडि फर्कने ठाउँ छैन तर यसको रूपान्तरण नगरी निकास सम्भव छैन । जसले जिम्मेवारी लियो उसैले त्यसलाई पार लगाउनुपर्छ जनताका प्रतिनिधिले अरूलाई आरोप लगाएर हुँदैन ।’ ‘विप्लव’ले भने ।
उनले अदालतबाट कुनै पनि फैसला रकम नदिएसम्म आफ्नो पक्षमा आउँदैन भनेर पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेकाले न्याय प्रणाली कस्तो भन्ने प्रष्ट भएको बताए ।
‘नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने सपना छ तर त्यो त्यति सजिलै होलाजस्तो लागेको छैन, ’उनले भने, ‘अब बुटवलबाट त्यो अभियानको सुरुवात भएको छ, समाजवादी यात्रामा कम्युनिष्ट पार्टीहरूको एकताबिना सम्भव छैन।’







