हङकङ । हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) का लागि नेपालका महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखकले चीनको परराष्ट्र मन्त्रालय हङकङ एसएआरका आयुक्त कुइ जियानचुनसँग भेटवार्ता गरेका छन्।
भेटमा डा. लेखकले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय सहकार्य गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरे। उनले चीन नेपालकै दोस्रो ठूलो व्यापारिक साझेदार, सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीकर्ता र महामारीपछिका शीर्ष तीन पर्यटक आगन्तुकमध्ये एक भएको तथ्य प्रस्तुत गर्दै चीनलाई नजिकको छिमेकी मात्र नभई भरपर्दो विकास साझेदारको रूपमा व्याख्या गरे।
नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा भएको सन्दर्भमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी जिनपिङलाई पठाएको शुभकामना सन्देशसमेत आयुक्तलाई अवगत गराए।
डा. लेखकले हङकङमा करिब २५ हजार नेपाली बसोबास गर्ने गरेको तथ्य उल्लेख गर्दै, “एक देश, दुई प्रणाली” सिद्धान्त अन्तर्गत हङकङले मुख्य भूमिसँगै विश्वलाई जोड्ने विशेष भूमिका खेलेको बताए। उनले हङकङलाई बीआरआईको महत्वपूर्ण प्लेटफर्मका रूपमा व्याख्या गर्दै नेपाल यसमा सक्रिय साझेदार बन्ने प्रतिबद्धता दोहोर्याए।
भेटमा हालै नेपालबाट हङकङमा आएका दुई उच्चस्तरीय प्रतिनिधिमण्डलको प्रसंग पनि उठाइएको थियो । पहिलो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले एशिया सांस्कृतिक सहयोग मञ्चमा सहभागिता जनाएको थियो। दोस्रो, परराष्ट्रमन्त्री नेतृत्वको टोलीले हङकङमा स्थापना भएको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन कार्यक्रममा भाग लिएको थियो। यी दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हङकङ सरकार र चीनको भूमिकाप्रति उनले बधाई र धन्यवाद व्यक्त गरे।
डा. लेखकले नेपाली नागरिकसँग प्रत्यक्ष सम्बन्धित श्रम कूटनीति, आवतजावत भिसा र हङकङमा रहेका नेपालीहरूको हितका विषयमा पनि छलफल गरेका थिए। साथै, नेपाल–हङकङबीच जनस्तर आदान–प्रदान सुदृढ रहेको, धार्मिक तथा पर्यटन प्रयोजनमा हरेक वर्ष धेरै हङकङवासी नेपाल आउने गरेको उल्लेख गर्दै “भिजिट नेपाल वर्ष २०२५” का अवसरमा अझ बढी भ्रमणका लागि आमन्त्रण गरे। हङकङ पासपोर्टधारीलाई नेपाल प्रवेशमा निःशुल्कभिसा सुविधा उपलब्ध हुने जानकारी पनि उनले दिए।
सो अवसरमा आयुक्त कुइ जियानचुनले डा. लेखकलाई औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गर्दै नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउन तयार रहेको बताएका थिए। उनले हङकङको वित्तीय तथा व्यापारिक केन्द्रको विशेष भूमिकालाई नेपाल–चीन साझेदारीका लागि उपयोग गर्न सकिने विश्वास व्यक्त गरे।
भेटमा चीनतर्फ उप-निर्देशक सु मिन, तेस्रो सचिव चेन् वेनजिङ र दुभाषे झाङ वेनकाई सहभागी थिए भने नेपालतर्फ महावाणिज्यदूत लेखकसँगै काउन्सल सतीश गुरुङ उपस्थित थिए।







