काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतको ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष ठाकुरले शीर्ष नेताको बैठकले गरेको निर्णय अनुसार महाधिवेशनको मिति सार्वजनिक गरेका हुन् ।
लोसपाको शीर्ष नेताको विस्तारित बैठक भाद्र ८ र ९ गते काठमाडौंमा बसेको थियो । २०७८ भदौमा गठन भएको लोसपाले यस वर्षभित्र महाधिवेशन गर्नुपर्दछ ।
लोसपा बैठकले तराई-मधेशका जिल्लामा खडेरीले प्रभावित गरेको हुँदा किसानलाई क्षतिपूर्तिको प्याकेज घोषणा गर्न संघीय तथा प्रादेशिक सरकार माग गरेको छ । तराई-मधेशका जिल्लाहरूको पानीको सतह दिन-प्रतिदिन तल जाँदै गरेको उल्लेख गर्दै दीर्घकालीन चुरे संरक्षणलाई तीन तहकै सरकारले प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ ।
तराई-मधेशका जिल्लामा लुटपाट, चोरी-डकैती र हत्याको घटनाहरू दिन-प्रतिदिन बढ्दै गएको सुरक्षा प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।







