काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताएका छन् ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारहरूसँग संवाद कार्यक्रममा उनले महाधिवेशनमा नेपाली समाजको आर्थिक र वर्गीय विश्लेषण हुने बताए । “नेपाली विशेषताको समाजवादका बारेमा महाधिवेशनमा छलफल हुनेछ । समाजवाद निर्माणका लागि कस्तो पार्टी बन्ने भन्ने पनि बहस हुनेछ”, उपमहासचिव ज्ञवालीले भने ।
जनताको बहुदलीय जनवादलाई पार्टीले मार्गदर्शन सिद्धान्तका रूपमा अगाडि बढाएको भन्दै उपमहासचिव ज्ञवालीले अब मुलुकको समृद्धिका लागि जबजलाई समानुकूल बनाएर लैजान जरुरी रहेको बताए । उनले महाधिवेशनमा संसदीय निर्वाचनमा पार्टीले बनाएका घोषणापत्रले पारेका प्रभावमाथि चर्चा हुने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी र राष्ट्र निर्माणको माग दर्शनका रूपमा रहने बताए।
उपमहासचिव ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रतिवेदनमा मातहतका कमिटीबाट सुझाव आइरहेकाले यही भदौ १९ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले थप सुझावसहित महाधिवेशनमा पेस गर्ने जानकारी दिए ।
उनले पार्टीभित्र विवाद हुनुपर्ने कुनै कारण नै नभएको उल्लेख गर्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीको उच्च सम्मान र मूल्यांकन रहेकाले अभिभावकीय भूमिका बस्न आग्रह गरे ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले महाधिवेशन सफल बनाउन चौतारीले प्रचारप्रसार कामलाई अगाडि बढाएको बताए ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।







