काठमाडौँ । चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन अघि चीनको तियानजिनमा मोदी र जीङपीङबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा मोदीले गत वर्ष कजानमा धेरै फलदायी छलफल भएको उल्लेख गर्दै सो छलफलले भारत–चीन सम्बन्धलाई सकारात्मक दिशा दिएको बताए। साथै मोदीले सीमा विवादपछि अहिले दुवै देशबीच शान्तिपूर्ण वातावरण बनेको र द्विपक्षीय छलफल सकारात्मक रूपमा अघि बढिरहेको बताए ।
२०२० मा गलवान उपत्यकामा भारत(चीन सैन्य झडप पछि यो मोदीको पहिलो चीन भ्रमण हो । अर्कोतर्फ अमेरिकाले कर लगाएपछि सम्बन्ध चिसिएको समयमा मोदीको चीन भ्रमणले विश्वको ध्यान केन्द्रित गरेको छ । मोदीले यसअघि २०१८ मा चीनको भ्रमण गरेका थिए । यो उनको चीनको छैटौँ भ्रमण हो ।







