काठमाडौँ । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्युठान नौ बहिनी गाउँपालिका-५ घर भएका हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३२ वर्षीय मिनराज राना क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
मिनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







