काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार नापी कार्यालय कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार चन्द्रागिरी नगरपालिका-१३ (साविक पुरानो नैकाप-८ख) मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा खटिएको टोलीले कुँवरलाई सेवाग्राहीबाट तेह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकीमा दर्ता श्रेस्ता कायम रहेको सो जग्गाको जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग तेह्र हजार रुपैयाँ मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
यसरी लिएको रकम बिगो कायम गरी कुँवरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) बमोजिमको कसूरमा कारबाहीको माग दाबी गरिएको छ। उक्त ऐनअनुसार कैद सजायसहित बिगो बराबरको जरिवाना हुनुपर्ने मागसहित आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।







