काठमाडौँ । पाल्पाको तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । ‘हाम्रो ब्लड बैंक, हामी बनाउँछौँ’ भन्ने अभियान सुरु गरेको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आजदेखि ब्लड बैंक सञ्चालनमा ल्याएको हो ।
चार ठूला अस्पतालसहित एउटा डायलाइसिस सेन्टरका लागि रगत अभाव परिपूर्ति गर्ने उद्देश्यले तानसेनमा ब्लड बैंक सञ्चालनमा ल्याइएको शाखाका सभापति बाबुराम कार्कीले बताए ।
उनले भने, “यहाँ हुने रगत अभावको समस्यालाई समाधान गर्न रगत बैंक महत्त्वपूर्ण मानिएको छ । विगतमा रगत अभावका कारण आकस्मिक अवस्थाका बिरामी र परिवारलाई कठिनाइ व्यहोर्नुपरेको थियो । आगामी दिनमा रगत नपाएर मानिसको मृत्यु हुनबाट रोक्न यो कार्यक्रमले सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।”
मानिसको जीवन बचाउन सबैलाई रक्तदान कार्यक्रममा सहभागी हुन अध्यक्ष कार्कीले अनुरोधसमेत गरे । जिल्लामा हरेक महिना तीन सयदेखि तीन सय ५० प्वाइन्ट र वार्षिक रूपमा चार हजार ५०० प्वाइन्ट रगतको आवश्यकता पर्ने उनले उल्लेख गर् ।
दुर्घटना, प्रसूति, शल्यक्रिया तथा दीर्घकालीन बिरामीका लागि समयमै रगत उपलब्ध गराउन कठिनाइ भइरहेकाले बिरामीलाई रगतको अभाव हुन नदिन, आधुनिक रक्त बैंक स्थापना गरी सञ्चालनमा ल्याएको शाखा उपसभापति भीमसेन कार्कीले बताए ।
ब्लड बैंक सञ्चालनका लागि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु. ५० लाखमा अत्याधुनिक उपकरण, रामपुर नगरपालिकाबाट रु. १० लाख बराबरको जेनेटर, रम्भा गाउँपालिकाबाट रु. पाँच लाख बराबरको एसि र फ्रिज, रिब्दीकोट गाउँपालिकाबाट रु. पाँच लाख बराबरको ब्याट्रीलगायत सामग्री खरिदका लागि सहयोग प्राप्त भएको रेडक्रसले जनाएको छ ।







