साथीहरू युके, युएसए र अस्ट्रेलियामा डलर बटुल्दै गर्दा,
पुराना चप्पल र च्यातिएका कपडामा गुजारा टार्दै,
प्रेम, गृहस्थी, चाडपर्व र मिलनहरूलाई पछि सार्दै,
लड्दै,भिड्दै लोकसेवाको कठिन दरबाजा खोलेर,
सरकारी मान्छे भएको सेवक हुँ म ।
तर, आज,
शपथको धज्जी उडाएर निर्लज्ज भएका केही लोभीहरूसँग दाँजेर,
देश प्रेम र अख्तियारीको दुरुपयोगले गन्हाएका दोषिहरुसँग जोडेर,
त्यो विगतको तपस्या,डिभी,पिआर र अनेकन सुनौला अवसरहरू दुत्कारेर,
जनताको सारथी भइ कर्म प्रिय सेवक म भएको तथ्य समेत नजरअन्दाजेर,
तिमि कर्मचारीले देश डुबायो भन्छौँ मलाई ।
र भन्छौ,
मैले जे भन्यो त्यही गर नत्र ठेगान लगाउँछु,
सरुवा गरेर दूर दराजमा लखेट्न आजै लगाउँछु,
नभए बरन्डाको घाममा सेकेर महिनौँ तड्पाउँछु,
अझै पुगेन यसले भने कालो मोसो र चट्कनले बाजा बजाउँछु।
मिल्ने भए पनि गर नमिल्ने भए पनि गर्नैपर्ने अरे,
तिमीले कुनै विधि र कानुन मान्न नपर्ने भयो अरे,
तिमिलाई जे चाहियो त्यसमै म सही धस्काई दिनपर्ने रे,
अन्यथा फेसबुके भित्तामा भ्रष्टको तक्मा भिडाइदिन्छौ रे।
सच्चा जनता त खुसी नै छन् मेरो कर्मबाट हेर सधैँ सधैँ,
तिम्रा धन्दालाई वैध बनाइदिने चक्करमा परेँ म यदि भने,
अख्तियारका अभियोगले निलम्बनको पगरी जब गुठाउँनेछन,
अनि बुकुर्सि सँगै घोक्रो फुलाएर तिमि नै मलाई सरापिरहेका हुनेछौँ ।
भकुन्डोसरि सरुवा, अनजानहरूको दादागिरीले निरीह भएको म,
अधिकार सीमा सम्झाउँदा चौतर्फी घेराबन्दी र दबाब झेलेको म,
साथीभाइको दाँजोमा घर घडेरी र श्रीसम्पत्तिको चाँजो पाँजो नहुँदा,
इष्टमित्रको हेलाँ र पत्नीको किचकिचले आजित भएको दुखी छु म।
घरपरिवार र समाजलाई ऋण सापटी र सहयोग दिन नसकी,
घरबेटीको भाडा र बच्चाको फिस समयमा तिर्न नसकी,
दुर्गममा तड्पिएर परिवार वियोगमा रहँदाको वेदना सही,
हाकिमको रुखो आदेश र सेवाग्राहीको आक्रोशले बिक्षप्ति छु म ।
तर पनि
सधैँ भरिको खेदाई,अपमान र अवसरबाट वञ्चित भएर,
गह्रुङ्गो मुटु भएर आत्मग्लानिमा डुबेको जीर्ण मन बोकेर,
सन्तोषको भाका फेर्दै मैले गाइरहेको छु,
त्यो अनौठो गीत प्रफुल्ल भएर ।
जब सुन्छु,
मालदार अड्डामा सधैँ जसो रही,उत्कृष्ट भइरहेका दौँतरीको व्यथा,
सबै चिजले भरिभराउ भएर पनि, निद्रा नपर्ने साथीहरूको रात्रि कथा,
तब मुटु झन् दरो भएर आउँछ र भन्छु सन्तोष परम सुखम,
र लम्किरहन्छु शिखरतर्फ दह्रिलो बनाएर मन झन् झन्।
जहाँ बदलिँदो प्रविधि र परिवेशसँग आफूलाई मेल गराउँदै,
कानुनको पालना सँगै जनसेवा र कडा अनुशासनमा रहँदै,
गिरेको मेरो यो सेवाको गरिमा फेरी यहाँ जुरुक्कै जगाएर,
जनजनका हृदयमा निजामती सेवाको महिमा एक दिन म रोप्नेछु।
देशको ढुकुटी पुरा भरेर,तगडा बनाएर यसलाई,
मनग्य तलब, मर्यादा र सम्मान थापेर यहीँ,
व्यावसायिक,सृजनशील र सुशासन मार्फत देशमा,
तीव्र विकास, सर्वत्र खुसी र समृद्धि ल्याएर यहाँ ।
सारा देश जगत गदगद भइरहेको त्यो दिन सोचेर,
म मेरो आफ्नै लयमा हिँडिरहेछु शिखर चुम्नलाई,
त्यसैले,तिमी मलाई जे सोच्छौ सोच्दै गर,
तर,म शिखरतिर लम्किरहन्छु।







