काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मंगलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

जात्राको अन्तिम दिन वसन्तपुरबाट सुरु भएको रथयात्रा नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको थियो।

राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ। तिनै नानिचाको नामबाट सुरु भएको यो जात्रा पछिल्ला वर्षहरूमा भने महिला सशक्तीकरण र लैङ्गिक समानताको विशिष्ट मञ्चमा रूपान्तरण भएको छ।

कुनै समय भीडभाडका कारण महिलाहरू घरका झ्यालबाट मात्र जात्रा हेर्न सीमित रहने र रथ तान्ने डोरी महिलाले छुनसमेत नहुने अन्धविश्वास रहेकोमा, वि.सं. २०६९ सालयता सामुदायिक छलफलमार्फत नानिचाको दिन महिलाले मात्र रथ तान्ने परम्परा बसालिएको हो।

मंगललबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीहरूले सामूहिक रूपमा रथ तानेका थिए।





