काठमाडौँ । नेपाली सेनाले जेन जेड आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै संयमित रहन सर्वसाधारणसँग अपील गरेको छ।
सेनाले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल र नेपाली जनताको हित तथा सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख छ। आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सेनाले शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल र नेपाली जनताको हित र सुरक्षामा सधैं समर्पित नेपाली सेना हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीवनको रक्षा गर्न प्रतिबद्ध रहँदै आएको छ।”
नेपाली सेनाले हालको संवेदनशील परिस्थितिमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक तथा राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सबैलाई सामूहिक जिम्मेवारी लिन आग्रह गरेको छ। साथै, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सबै नागरिक र विशेषगरी युवापुस्तालाई संयमित रहन आह्वान गरेको छ।








