काठमाडौँ । जेन जेडको आह्वानमा भएको आन्दोलनका क्रममा उत्पन्न क्षति प्रति गम्भीर ध्यानाकर्षण गर्दै निष्पक्ष छानबिनको माग युवा संगठनहरूले गरेका छन्।
नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै हालका आन्दोलनका घटनाप्रति आफ्नो गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जेन जेडको आह्वानमा भएको आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भइसकेको र एक हजार बढी घाइते भएका छन्। विज्ञप्तिमा यस स्तरको मानवीय क्षति अत्यन्त दुखद, हृदयविदारक र निन्दनीय भएको उल्लेख गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
युवा नेताहरूले आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी प्रक्रिया अनुसार कडाभन्दा कडा कारवाही हुनुपर्ने मागसमेत गरेका छन्। विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जेन जेडका प्रमुख माग-भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शी शासन, न्याय र जबाफदेहिता-प्रति युवा संगठनहरूले पूर्ण समर्थन व्यक्त गरेका छन्। भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी रूपमा सजाय दिनुपर्ने विषयमा उनीहरूले दृढता देखाएका छन्।’
प्रधानमन्त्रीले राजीनामा दिइसके पनि अवाञ्छित तत्त्वले जारी गरेको आगजनी, विध्वंस, तोडफोड, हिंसा र लुटपाटका घटनाहरूको कडा निन्दा विज्ञप्तिमा गरिएको छ। साथै, सो घटनामा सुरक्षा निकायहरूले आवश्यक कदम नचालेको विषयमा छानबिनको माग गरिएको छ। आगामी दिनमा यस्ता घटनालाई रोक्न स्थानीय स्तरमा सुरक्षा समितिहरू गठन गर्न अपिल पनि गरिएको छ।








