काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यही संविधानलाई आधार बनाएर सर्वपक्षीय र सर्वदलीय सहमति निर्माण गर्न आग्रह गरेका छन् ।
जेन जेड आन्दोलनपछि भएको घटनाक्रमलाई विश्लेषण गर्दै उनले मुलुकलाई निकासतर्फ अघि लान सर्वदलीय र सर्वपक्षीय प्रयत्नलाई अघि बढाउन आह्वान गरेका हुन् ।
विज्ञप्तिमार्फत शान्ति कायम गर्न र सबै पक्षकाबीचमा भेटघाट र वार्ताको सुरुवात गर्न पनि अपिल गरेका छन् ।
‘मुलुकलाई नयाँ निकासतर्फ अघि लान सर्वदलीय र सर्वपक्षीय प्रयत्नलाई अघि बढाऔँ । मुलुकमा शान्ति कायम गरौँ । सबै पक्षकाबीचमा भेटघाट र वार्ताको सुरुवात गरौँ । वर्तमान परिस्थितिका गम्भीरतालाई सबै पक्षबाट केलाऔँ’ खनालले भनेका छन्, ‘मुलुकलाई संविधानविहीन अवस्थातर्फ धकेल्ने र देशलाई अँध्यारो सुरुङतिर लाने दुष्प्रयासबाट देशलाई बचाऔँ । विद्यमान संविधानलाई नै अघि बढ्ने आधार बनाऔँ । यही संविधानलाई आधार बनाएर सर्वपक्षीय र सर्वदलीय सहमति निर्माण गरौँ । त्यही वार्तामा हाम्रो साझा नीति र कार्यक्रम निर्धारण गरौँ । त्यही नीति र कार्यक्रमको आधारमा सर्वदलीय र सर्वपक्षीय सरकार गठन गरी देश, जनता र राष्ट्रलाई पुनर्गठन, पुनर्स्थापना र रूपान्तरण गर्दै समृद्धि र समाजवादको दिशामा अगाडि बढाऔँ ।’
मुलुक शान्ति स्थापनाको दिशातर्फ फर्कने लक्षणहरू प्रकट भइरहेको बेला जेन जेड पुस्ताको आन्दोलनको मौका पारेर देशी विदेशी प्रतिक्रियावादीहरूले गरेको अपराधको पनि समीक्षा हुने विश्वास व्यक्त गरेका छन् ।
‘अब आम जनता शान्ति चाहन्छन्, सिंगो देश शान्ति चाहन्छ र जेन जेड पुस्ता पनि शान्ति नै चाहन्छन् । शान्ति स्थापना गरेर मुलुकलाई पुनर्स्थापना र अग्रगमनतिर लानु नै अहिलेको तत्कालीन आवश्यकता र कार्यभार बनेको छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा हामी सबै शान्त, संयमित र धैर्यवान् बनौँ । सम्पूर्ण विध्वंसक र हिंस्रक गतिविधि रोकौँ ।’
आन्दोलनको क्रममा शहादत भएका सम्पूर्ण युवाहरूप्रति खनालले समवेदना समेत प्रकट गर्दै घाइतेहरूको शीघ्र र नि:शुल्क उपचार गर्नको निम्ति माग गरेका छन् ।







