काठमाडौँ । आजै राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको शपथ सम्पन्न भएलगत्तै सिंहदरवारमा पद बहालीको तयारी गरिएको छ।
प्रशासन स्रोतका अनुसार, शपथ ग्रहणपछि उनी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएर पदबहाली गर्ने र त्यसपछि क्याबिनेट बैठक बस्ने छ। तर क्याबिनेट बैठक सिंहदरवारमा बस्ने कि शीतल निवासमा भन्नेबारे भने अझै स्पष्ट भएको छैन।
स्रोतका अनुसार पहिलो क्याबिनेट बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र संकटकालको सिफारिस गर्न सक्ने सम्भावना रहेको छ। राष्ट्रपति पौडेलको अनुमोदनपछि संवैधानिक विशेषाधिकार प्रयोग गरी संसद विघटन हुने र तीन महिनाका लागि संकटकालको घोषणा हुन सक्ने बताइएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री कार्कीले मुलुकलाई स्थिरतर्फ डोर्याउने पहिलो कदमको तयारी सुरु गर्ने बुझिएको छ।
नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की यसरी दुई प्रतिष्ठित पदमा पुग्ने पहिलो व्यक्तिका रूपमा इतिहास रच्ने क्रममा छिन्। अन्तरिम मन्त्रिपरिषद् गठनसँगै कम्तीमा तीन मन्त्रीले पनि शपथ ग्रहण गर्ने अनुमान गरिएको छ। जसमा बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, कुलमान घिसिङ र बालानन्द शर्मा मन्त्री बन्न लागेको प्रशासनका उच्च स्रोतले जानकारी दिएका छन्।







