काठमाडौँ । पूर्व सहसचिव भागवत खनालले सिंहदरवारस्थित निजामती सेवामा सुधार गर्न १२ बुँदे ठोस सुझाव सार्वजनिक गरेका छन्। उनले दशकौँदेखि जरा गाडेर बसेका ‘साहेवी संस्कारदेखि चापलुसी प्रवृत्ति’ अन्त्य नगरेसम्म सुशासन सम्भव नहुने तर्क गरेका छन्।
खनालले सर्वप्रथम साहेवी प्रथा र ट्रेड युनियनको नाममा हुने दादागिरी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। सचिवलाई एक मात्र पिए भए पुग्ने भन्दै उनले भित्री कोठा प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। उनका अनुसार सहसचिव तहलाई न त पिए चाहिन्छ न त अलग्गै कोठा।
कार्यालय समयको दुरुपयोग रोक्न उनले टिफिन टाइम बाहेक चिया–गफ संस्कृतिको अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन्। सिंहदरबार आजसम्म भान्सा घर सरह बनेको भन्दै उनले आवश्यकता अनुसार थप चमेना गृह स्थापना गरेर टिफिन समयमै मात्र नास्ता खाने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार कार्यालयमा व्यक्तिगत भेटघाट गर्ने चलन तत्काल बन्द हुनुपर्छ। सचिव बाहेकका सबै तहका कर्मचारी एउटै हलमा बसेर काम गर्ने प्रणाली अपनाउनुपर्ने उनको धारणा छ। उनले अस्ट्रेलिया, जापान र डेनमार्कजस्ता मुलुकमा प्रचलित खुला हल प्रणालीलाई नेपालमा पनि कार्यान्वयन गर्न सकिने बताएका छन्।
खनालले फाइलमा सही गर्नासाथ फसिने खालको डर संस्कृतिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। आयोजना प्रमुखलाई फाइल बोकेर योजना आयोग र अर्थ मन्त्रालय धाउन बाध्य पार्ने चलन पनि रोक्नुपर्ने उनको ठम्याइ छ।
सिंहदरवारमा नयाँ मन्त्री आउँदा देखिने अत्यधिक चापलुसी संस्कार हटाउनुपर्ने खनालको धारणा छ। उनका अनुसार सेवक कर्मचारीले आफ्ना अधिकार र कर्तव्यको मर्यादा कायम राख्दै काम गर्ने संस्कृतिको विकास नगरेसम्म प्रणालीमा सुधार सम्भव हुँदैन।
अन्तिम सुझावमा खनालले अवकाशपश्चात् लाभका लागि स्वाभिमानलाई बन्धक राखेर चाकडी गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्। उनका अनुसार योग्य र इमानदार मान्छेलाई राज्यले आफैँ खोज्छ, चाकडी वा भैलो खेल्न आवश्यक पर्दैन।
पछिल्लो जेन जेड आन्दोलनसँगै निजामती कस्तो हुने भन्नेबारे बिस्तारै बहस भई रहँदा पूर्व सहसचिव खनालका यी सुझावहरूले सुशासन, पारदर्शिता र कार्यक्षमता कायम गर्ने दिशामा बहसको ढोका खोल्ने संकेत गरेको देखिन्छ।







