काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गरेका छन् ।
सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए ।
मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेन जेड प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि उत्पन्न समस्याका विषयमा छलफल भएको जनाइएको छ ।
साथै मधेस प्रदेशसभा सञ्चालनका लागि आवश्यक भौतिक संरचनासहितका अन्य संरचना निर्माणका विषयमा पनि छलफल भएको मधेस प्रदेशका सभामुख मण्डलको सचिवालयले जनाएको छ ।
मधेस प्रदेशसभाका सम्पूर्ण संरचना, संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्षसहितका संरचना जलेका कारण अहिले नै प्रदेश सभाको बैठक बस्न सक्ने अवस्था नरहेको सभामुखले मुख्यमन्त्रीलाई जानकारी दिएका छन् ।
आफ्नै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीमाथिको विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएका कारण मुख्यमन्त्री सिंहले संविधानअनुसार प्रदेश सभाबाट ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने छ । त्यसका लागि पनि मधेस प्रदेशसभाको बैठक आवश्यक छ ।







