काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह निवास चाक्सीवारिमा काँग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक बसेको छ ।
बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् ।
सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।
समसामयिक विषयमा छलफल गर्न बसेको बैठकले सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गर्ने निर्णय भएको एक सहभागी नेताले जानकारी दिए ।
यसैगरी बैठकले अहिलेको विषम परिस्थितिमा काँग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ ।
अहिलेको संकटबाट निकास दिन काँग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको ती नेताले बताएका छन् ।







