दाङ । दाङका पाँच वटा अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर-१३ को फूलबारी, तुलसीपुर-१८ बेलझुण्डी, तुलसीपुर-४ को हलवार, बबई गाउँपालिकाको पुरन्धारा, दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् ।
पछिल्लो समय अतिरिक्त हुलाकको काम शून्य प्राय: छ । यसरी सेवाग्राही नहुँदा पनि अतिरिक्त हुलाक कार्यालयहरू बन्द हुने अवस्थामा आएको अधिकृत बस्नेतले बताए । “अतिरिक्त हुलाक कार्यालयको काम शून्य जस्तै छ, केही बैंकका चिठीहरूबाहेक अरू चिठी आउन छोडे”, उनले भने ।
अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूको अवकाश भएपछि त्यो पद स्वत: खारेज हुने भएपछि यसरी अतिरिक्त हुलाक कार्यालयहरू बन्द भएका हुन् । कार्यालयहरू कामविहीन भएपछि बन्द गर्न थाले पनि विरोध भएपछि कर्मचारीको अवधिभर काम गर्ने र अवकाश भएपछि त्यो पद स्वत: खारेज हुने कानुनी व्यवस्था गरिएको छ ।
अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, वितरण, डाँक वाहकलगायतका पद थिए । उनीहरूले दैनिक कम्तीमा पनि दुई घण्टा काम गर्नुपर्ने हुन्थ्यो । हाल जिल्लामा २५ वटा हुलाक अतिरिक्त कार्यालयहरू भने चलिरहेका छन् भने इलाका हुलाक कार्यालयहरू पाँच वटा रहेका छन् ।







