काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक र ट्विटर खाता सञ्चालन भएको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै ती खाताबाट भइरहेको पोस्ट र समाचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।
कार्यालयका प्रवक्ता सहसचिव रविलाल शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको नाममा फेक आइडीमार्फत सामाजिक सञ्जालमा विभिन्न सामग्री प्रसारित भइरहेको र यसले आम नागरिकमा भ्रम सिर्जना गरिरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।”
साथै, यस किसिमका गैर कानुनी गतिविधिमा संलग्नहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनीसमेत प्रधानमन्त्री कार्यालयले दिएको छ।








