काठमाडौँ । गृह मन्त्रालयले जेन जेड पुस्ताद्वारा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा हराएका हातहतियार र खरखजानाबारे सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र बुझाएमा सम्मान गरिने र पछि फेला परे कानुनी कारवाही हुने चेतावनी दिएको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनामा काठमाडौँसहित मुलुकका विभिन्न भागमा सुरक्षा निकायसँगै हराएका हातहतियार र खरखजाना आगामी २०८२ असोज मसान्तभित्र नजिकको सुरक्षा निकायमा बुझाउन सबैलाई आग्रह गरिएको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘तोकिएको म्यादभित्र यस्ता सामग्री बुझाउने वा यसको जानकारी दिने व्यक्तिलाई सरकारले उचित सम्मान गर्नेछ। तर, असोज मसान्तपछि पनि कसैसँग हराएको हातहतियार वा खरखजाना फेला परेमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारवाही गरिनेछ।’








