काठमाडौँ । कारागार कार्यालय चितवनले फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २५ गते कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरेको हो ।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने जनाइएको छ ।
कैदी बन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर सहयोग गरिदिनु हुनसमेत सूचनामा भनिएको छ । कारागार कार्यालयबाट गत भदौ २५ गते सात सय ४२ कैदी बन्दी भागेका थिए । जसमध्ये पाँच सय ६१ जना कारागारको सम्पर्कमा आएका छन् भने अन्य जिल्लामा रहेका कारागारमा आठ जना सम्पर्कमा आएका छन् । साथै अन्य जिल्लाबाट भागेका १७ जना कैदी बन्दी यस कारागारमा सम्पर्कमा रहेको उनले जानकारी दिए ।
यस्तै जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदी बन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन भएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी एक साताभित्र फर्किन निर्देशन दिएको हो ।







