काठमाडौँ। सिरहा नगरपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ। सोमबारदेखि लागू हुने गरी नगरपालिकाले हिजो सूचना निकालेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार संघीय सरकारको निर्णय र परिपत्रका आधारमा अस्थायी र करार सेवा सम्झौता रद्द गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार यही असोज ५ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीवाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र गरेर अस्थायी र करार सेवा सम्झौता रद्द गर्न भनेको छ।
संघीय मन्त्रिपरिषद्को निर्णय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रको आधारमा सिरहा नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी, ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको हो।
हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड बडादसैँ अन्तर्गत फूलपातीका दिनदेखि लागू हुने गरी जागिरबाट निकाल्ने कार्य उचित नरहेको भनेर स्थानीयहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।








