काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै जिल्ला समन्वय अधिकारीहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको अत्यन्त जरुरी सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक तयारीका लागि यो निर्णय गरिएको जनाएको छ।
सूचनामा भनिएको छ,…“सावधानी अपनाउन र पूर्व तयारी तथा प्रतिकार्यका उपायहरू तत्काल अपनाउन सबै प्रशासनिक निकायहरू, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू अनिवार्य रूपमा उपस्थित रहनु पर्नेछ।”
मन्त्रालयले यस अवधिमा सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन र आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि आवश्यक समन्वय मिलाउन निर्देशन दिएको छ।
उपसचिव भुवनेश्वर लामिछानेद्वारा हस्ताक्षरित सूचनामा, मन्त्रालयका मातहतका सबै कार्यालयहरूलाई सतर्कता अपनाउन, विपद् जोखिम न्यूनीकरण र राहतका काममा तत्काल प्रतिक्रिया दिन तयार रहन आग्रह गरिएको छ।








