काठमाडौँ । देशका विभिन्न प्रदेशमा जारी निरन्तर वर्षा र सम्भावित विपद् व्यवस्थापनका लागि वायुसेवा सञ्चालक संघ, नेपालले आफ्ना सदस्य कम्पनीहरूका हेलिकप्टरहरू तयारी (स्ट्यान्डबाइ) अवस्थामा राखिएको जनाएको छ।
संघले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखिएको पत्रमार्फत हाल देशका धेरै स्थानमा भइरहेको लगातार वर्षाका कारण विभिन्न भू–भागमा बाढी, पहिरा लगायतका विपद्का घटनाहरू भइरहेका र त्यस्ता अवस्थाहरूमा उद्धार तथा राहत कार्यमा सहयोग पु-याउन सदस्य कम्पनीहरू सधैं तयार रहेको जानकारी दिएको हो।
संघका अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “काठमाडौँ उपत्यकामा उत्पन्न हुन सक्ने विपद्जन्य घटनामा सदस्य वायुसेवा कम्पनीहरूले हेलिकप्टरमार्फत निःशुल्क उद्धार तथा राहत कार्यमा सहयोग गर्न तयार रहेका छन्।”
संघले उद्धार कार्यका लागि नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समन्वय अधिकारी तोक्न आग्रह गरेको छ। समन्वय अधिकारीको निर्देशनअनुसार उद्धार कार्य सञ्चालन गर्न तयार रहेको संघले जनाएको छ।

यसअघि, गृहमन्त्रालयले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै विपद् व्यवस्थापनका तयारीका लागि सबै सम्बन्धित निकायहरूलाई सतर्क रहन निर्देशन दिएको थियो।
मन्त्रालयले वायुसेवा सञ्चालक संघलाई लेखेको पत्रमा उद्धार तथा राहत कार्यका लागि आवश्यक परे हेलिकप्टर तत्काल प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको थियो। पत्रमा भनिएको छ, “सम्बन्धित निकायहरूको समन्वयमा आवश्यक परेमा हेलिकप्टर तत्काल प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा रहनु पर्नेछ।”
गृहमन्त्रालयको उक्त निर्देशनपछि वायुसेवा सञ्चालक संघले आफ्नो पत्रमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिँदै सम्भावित विपद्का घटनामा उद्धार तथा राहत कार्य तत्काल सुरु गर्न सदस्य कम्पनीहरू पूर्ण तयारी अवस्थामा रहेको स्पष्ट पारेको हो।








