काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अति भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुन:स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुन:स्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेको नि:शुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्ने निर्णयसमेत भएको उनले बताए ।
विपद्जन्य घटनाको जोखिमको विश्लेषण गरी लामो दूरी र काठमाडौँ भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अर्को सूचना जारी नहुन्जेलसम्म जोखिमयुक्त राजमार्ग/सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।
अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले अवरुद्ध सडक मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्न सडक विभाग, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।







