काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक बिदा यथावत् रहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले बिदा फिर्ताको निर्णय नभएको तर वर्षा वा विपद्को प्रभाव नपरेका जिल्ला र कार्यालयहरूले सेवा सञ्चालन गर्न सक्ने बताएका छन् ।
“बिदा फिर्ता लिएको होइन, तर सेवा प्रवाह गर्न सक्ने जिल्लाहरूले आफ्नो सेवा नियमित रूपमा सञ्चालन गर्न सक्छन्,” काफ्लेले भने ।
यसअघि मन्त्रालयले निरन्तर वर्षाका कारण हुन सक्ने बाढी, डुबान, भूस्खलनलगायत जोखिमका साथै सडक र हवाई यातायात प्रभावित हुने तथा मानवीय क्षति सम्भावना रहेको भन्दै असोज १९ र २० गते देशभरका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, वर्षा र बाढीको प्रभाव नगएको विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही जिल्ला प्रशासन कार्यालयहरूले सेवा सञ्चालन गर्न सकिने जानकारी जानकारी प्रशासन कार्यालयहरुबाट आएसँगै मन्त्रालयले विपद् जोखिममा नपरेका जिल्लाहरूलाई सेवा सञ्चालन गर्न सकिने सम्बन्धमा आन्तरिक सर्कुलर जारी गरेको थियो ।

यता, जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार राति अत्यावश्यक सूचना भन्दै जिल्लाभित्रका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूबाट नियमित सेवा प्रवाह गर्न निर्देशन दिएपछि कर्मचारी र सेवाग्राहीबीच अन्यौलता पैदा भएको थियो ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू त सञ्चालनमै रहेको अवस्थामा काठमाडौँका सबै सरकारी कार्यालय खोल्ने सूचनाले भ्रम सिर्जना गरेको हो ।

यस सन्दर्भमा गृह सचिव रामेश्वर दंगालले सहज रूपमा सेवा दिन सक्ने कार्यालयहरूले सेवा प्रवाह गर्न सक्ने तर असहज परिस्थितिले कार्यालय पुग्न नसक्ने कर्मचारीका हकमा सार्वजनिक बिदा कायम रहने बताए । “आज पनि सरकारले सार्वजनिक बिदा फिर्ता लिएको छैन, तर सामान्य अवस्था भएका कार्यालयहरूले सेवा सञ्चालन गर्न सक्छन्,” उनले भने ।







