काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा गजेन्द्रकुमार ठाकुर नियुक्त भएका छन्। अर्थ मन्त्रालयले सोमबार उनलाई विभागको नेतृत्वको जिम्मेवारी दिएको हो।
पछिल्लो मन्त्रिपरिषद्को बैठकले ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिएको हो।
यसअघि विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (ओपीएमसी) अन्तर्गत थियो। तर, अन्तरिम सरकार गठनसँगै यसलाई अर्थ मन्त्रालयको मातहतमा ल्याइएको हो।
अर्थ मन्त्रालयमा हाल कर प्रणाली सुधार, सार्वजनिक खर्च व्यवस्थापन र आर्थिक पारदर्शिता प्रवर्द्धनका विषयमा नीतिगत सुधारका पहलहरू भइरहेका छन्। त्यसै सन्दर्भमा ठाकुरको नेतृत्वमा विभागले बैंकिङ प्रणालीमार्फत हुने अवैध कारोबार, कर छल र मनी लन्डरिङ गतिविधिलाई नियन्त्रणमा लिन सक्ने अपेक्षा गरिएको छ।
यसअघि विभाग राजनीतिक प्रतिशोध साध्ने र प्रशासनिक स्वार्थ(असुली)को साधन बनेको भन्दै जनस्तरमा व्यापक आलोचना हुँदै आएको थियो। हेरौं ठाकुरको नेतृत्वले विभागको कार्यक्षमता र विश्वसनीयता पुनर्स्थापनामा के कस्तो योगदान दिन सक्छन् !







