काठमाडौँ । हुलाक सेवाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको आफ्नै सेवाको रूपमा विकास र विस्तार गर्नु सबैको साझा जिम्मेवारी भएको बताएकी छन्।
१५१औँ विश्व हुलाक दिवस २०२५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हुलाक सेवा निरन्तरता दिने कर्मचारी, हुलाक सेवालाई माया गर्ने आम नागरिक तथा समस्त सेवाग्राहीप्रति आभार प्रकट गरेकी छन्। साथै उनले हुलाक सेवालाई समयानुकूल आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र सुदृढ बनाउँदै लैजान सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
महानिर्देशक पंगेनीले विगतका कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिने हुलाक कर्मचारी, सेवाग्राही र हुलाक प्रेमी नागरिकप्रति कृतज्ञता व्यक्त गर्दै भनिन् –“विपद् र सङ्कटका बेला हुलाककर्मीहरूले आफ्नो ज्यान जोखिममा पारी जनताको सेवा गरेका छन्। उनीहरूको त्याग र समर्पण सधैँ स्मरणीय रहनेछ।”
“हुलाकलाई मन मुटुमा राखी सम्भावित क्षतिबाट जोगाउने समुदायप्रति हाम्रो आभार सदैव रहनेछ। हामी सबै मिलेर हुलाक सेवालाई अझ सशक्त, जनमुखी र आधुनिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ”–उनले थपिन्,
नेपालमा यस वर्ष विविध कार्यक्रमसहित “नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच” भन्ने नाराका साथ विश्व हुलाक दिवस मनाइँदै छ।
विश्व हुलाक दिवसको ऐतिहासिक पृष्ठभूमि
विश्वभरका सरकारी हुलाक सेवाहरूको साझा संस्था विश्व हुलाक सङ्घ (युनिभर्सल पोस्टल युनियन) सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको हो।
सन् १९४८ मा यस संघले संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत निकायको मान्यता प्राप्त गर्यो। यसले विश्वभर हुलाक सेवालाई सार्वभौमिक सेवा दायित्व अन्तर्गत निरन्तरता दिँदै आएको छ।
यही अवसरमा प्रत्येक वर्ष अक्टोबर ९ लाई विश्व हुलाक दिवसका रूपमा मनाइन्छ।
नेपालमा हुलाक सेवाको सुरुवात र विस्तार
नेपालमा वि.सं. १९३५ सालमा “नेपाल हुलाक घर” स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु गरिएको थियो।
त्यसपछि सन् १९५६ अक्टोबर ११ ९वि।सं। २०१३ असोज २६० मा नेपालले विश्व हुलाक संघको सदस्यता प्राप्त गर्दै अन्तर्राष्ट्रिय हुलाक समुदायमा प्रवेश गरेको हो।
त्यस समयदेखि नेपालले हरेक वर्ष यो दिवसलाई राष्ट्रिय स्तरमा मनाउँदै आएको छ।
हाल नेपाल हुलाक सेवा संघीय संरचनाअनुसार सबै स्थानीय तहसम्म पहुँच भएको देशको सबैभन्दा ठूलो संयन्त्रका रूपमा स्थापित छ।
परम्परागत हुलाकदेखि आधुनिक प्रणालीतर्फको यात्रा
महानिर्देशक पंगेनीका अनुसार हुलाक सेवा सूचना तथा सञ्चारको पुरानो तर भरपर्दो माध्यम हो, जसले समयानुकूल आफ्नो स्वरूपलाई परिमार्जन गर्दै आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक सेवातर्फ अघि बढिरहेको छ।
उनले भनिन्,–“सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपालको हुलाक सेवालाई समयानुकूल रूपान्तरण गर्नु आजको आवश्यकता हो। हुलाक केवल पत्र पठाउने माध्यम होइन, यो नागरिक र राष्ट्रबीचको सशक्त सेतु हो।”
नेपाल सरकारको १६औँ योजना, नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको “स्मार्ट हुलाक निर्माण” को उद्देश्य साकार गर्न उनले सबै हुलाककर्मीलाई जिम्मेवारीपूर्वक योगदान दिन आह्वान गरेकी छन्।
‘नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच’ – २०२५ को सन्देश
यस वर्षको विश्व हुलाक दिवसको नारा “नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच” लाई आत्मसात् गर्दै महानिर्देशकले हुलाक सेवाले देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने प्रेरणा दिलाओस् भन्ने शुभकामना व्यक्त गरिन्।
उनले निष्कर्षमा भनिन्,“हुलाक सेवा परम्परा र प्रविधिको संगम हो। यसले राष्ट्र र नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउँदै विश्वस्तरमा नेपालको पहिचान स्थापित गर्न सहयोग पुर्याउनेछ।”







