काठमाडौँ । किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको मृत्यु भएको छ । रत्ननगर नगरपालिका-१२ मा रहेको उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका-२ मा बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर नगरपालिका-१२ बस्ने वर्ष ५४ को रेशम दमाई र जिल्ला चितवन रत्ननगर नगरपालिका-१२ बस्ने ४५ वर्षका कमल गुरुङको मृत्यु भएको चितवन प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार बिहान ९ बजेर ५० मिनेट जाँदा उद्योगको दाना नम्बर ४ को बाल भत्किएको थियो । घटनामा अरु दुई जना मजदुर पनि घाइते भएका छन् ।
घाइते भएका पर्सा घर भई हाल रत्ननगरमा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा जिल्ला नै घर भइ रत्ननगरमै बस्ने ४० वर्षका पंकज प्रसाद थारुको हात खुट्टामा चोट लागेको चितवन प्रहरीले जनाएको छ । हाल घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।







