काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका-९ सुर्केबाट लुकाएर राखेको दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७२ वर्षीय डेकबहादुर केसी र ५० वर्षीय धनमान थामी रहेका छन् ।
प्रहरीका अनुसार शनिवार राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर भीमेश्वर-९ का ३८ वर्षीय शुक्रमान थामी घाइते भएका थिए । घाइते भएपछि प्रहरीले आइतबार सोधपुछका क्रममा बन्दुकको छर्रा लागेको फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सिकार खेल्न गएको जंगलमा खोजतलास गर्दा २ थान भरुवा बन्दुक, त्यसमा गोलीको रूपमा प्रयोग हुने घरेलु धातुका टुक्रा, बारुद लगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ । घाइते भएका चरिकोट अस्पतालमा उपचार भइरहेको छ ।







