काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गर्दै मिठाई तथा दुग्धजन्य उत्पादनमा हुन सक्ने मिसावट रोकथामका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनलाई तीव्र पारेको छ । सोमबार मात्रै विभागका निरीक्षण टोलीहरूले भक्तपुरस्थित विभिन्न मिठाई पसलहरूमा मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण गरेका छन् । अनुगमनका क्रममा ठूलो परिमाणमा मिसावटयुक्त खुवा र बर्फी बरामद गरी तत्काल नष्ट गरिएको विभागले जनाएको छ ।
विभागको टोलीले भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित शाक्य स्वीट्समा परीक्षण गर्दा खुवा र बर्फी दुवैमा स्टार्च पोजेटिभ देखिएपछि करिब ६० किलो मिठाई सामग्री तत्काल नष्ट गरिएको छ । सो पसललाई पुन: यस्ता मिसावटयुक्त उत्पादन नगर्न निर्देशन दिइएको छ ।
त्यसैगरी, सोही क्षेत्रको काफ्ले स्वीट्समा पनि बर्फीमा स्टार्च पोजेटिभ पाइएको छ । परीक्षणको परिणामपछि ८० किलो बर्फी तत्काल नष्ट गरिएको र पसल सञ्चालकलाई आगामी दिनमा गुणस्तरीय उत्पादन मात्र बिक्री वितरण गर्न चेतावनी दिइएको विभागले जनाएको छ ।
अनुगमन टोलीले विनायक मिठाई पसलबाट संकलन गरिएको खुवा र बर्फीको नमुना परीक्षण गर्दा समेत स्टार्च पोजेटिभ भेटिएपछि २५ किलो खुवा तथा बर्फी नष्ट गरिएको छ । सो पसललाई पनि सरसफाइमा सुधार ल्याउन र शुद्ध खाद्य वस्तु मात्र उत्पादन तथा बिक्री गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
यस्तै, भक्तपुरकै लवजु मिठाई भण्डारमा पनि टोलीले निरीक्षण गरेको थियो । सो पसलका मिठाईहरूमा मिसावट नदेखिए पनि सरसफाइ कमजोर रहेको पाइएको छ । त्यसैले सरसफाइमा विशेष ध्यान दिन र गुणस्तरीय वस्तु मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको हो ।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, उद्योग तथा वाणिज्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।
विभागका अनुसार विशेषगरी चाडपर्वका समयमा मिठाई, दुग्धजन्य तथा अन्य खाद्य वस्तुहरूमा मिसावट हुने सम्भावना उच्च रहने भएकाले देशभर आकस्मिक अनुगमनलाई तीव्रता दिइएको हो ।
विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार तिहारका बेला सर्वाधिक खपत हुने खुवा, बर्फी, लड्डुजस्ता वस्तुहरूको गुणस्तर सुनिश्चित गर्न उपत्यकासहित देशका विभिन्न स्थानमा मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ । उनका अनुसार, “मिसावट भेटिए तत्काल उक्त वस्तु नष्ट गर्ने र सम्बन्धित व्यवसायीलाई कडाइका साथ चेतावनी दिइने गरिएको” हो ।
“उपभोक्ताले गुणस्तरीय खाद्य वस्तु उपभोग गर्ने अधिकार सुनिश्चित गर्न विभागले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै चाडपर्वका समयमा अझ बढी सतर्कता अपनाइरहेको छ ।” महानिर्देशक वैद्यले भनिन् ।







