ढोरपाटन । तिहार पर्वसँग देउसीभैलोको गहिरो सम्बन्ध रहँदै आएको छ। जब तिहार सुरु हुन्छ, गाउँसहर जताततै देउसीभैलोको रौनक छाउँछ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा रमाइरहेका छन्। तर, वर्षौंदेखि नेपाली संस्कृतिको प्रतीक बनेको देउसीभैलोको मौलिकता भने बिस्तारै हराउँदै गएको छ।
एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेको भीड लागेको छ भने गाउँघरमा पनि उस्तै चहलपहल छ। तर अहिले भैलो खेल्दा गाइने गीत र नाचिने नाचमा पहिलेझैँ मौलिक स्वाद भेटिँदैन।
तिहारसँगै मादल, बाँसुरी, खैजडीजस्ता वाद्यबादन र सोरठी, मारुनी, कौरा, झ्याउरेजस्ता गीतहरू देउसीभैलोका अभिन्न अंग थिए। तर, अहिले ती परम्परागत बाजा बजाउने र गीत गाउने चलन हराउँदै गएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ।
निसीखोला गाउँपालिका-४ का थमबहादुर पुन मगर भन्छन्, “पहिले देउसीमा सोरठी र मारुनी नाचिने गर्थ्यो, अहिले पप, र्याप र विदेशी गीतमा नाचिन्छ। पहिरनमा पनि मौलिकता हराइसकेको छ। कतिपय नाच त परिवारसँगै हेर्नै नसकिने छन्।”
उनीका अनुसार पछिल्ला वर्षमा पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिक रूप विकृत बनाएको छ।
“पहिला मादल, बाँसुरी र खैजडी बजाएर कथा र व्यथा सुनाइन्थ्यो। अहिले त बजारमा गीत बजाएर नाचिन्छ, गाउँमा पनि यही चलन छिरेको छ,” मगरले थपे।
बडिगाड गाउँपालिका-८ का प्रेमबहादुर काउचाको भनाइमा, “एक दशकअगाडि गाउँमा मौलिक कपडा र गीतसहित देउसीभैलो खेलिन्थ्यो, अहिले त्यो दृश्य हराएको छ।” आधुनिक प्रविधि, देखासिकी र मनोरञ्जनको नयाँ ढाँचाले मौलिक संस्कृतिमा अस्तित्वको संकट ल्याएको उनको बुझाइ छ।
काउचाले भने, “अहिले त गीत पनि चलाउने साउण्ड सिस्टम छ, कोही गाउने छैन, नाच्ने मात्र छन्। हाम्रा पालामा देउसीभैलो संस्कृतिको सन्देश थियो, अहिले त्यसको रूपान्तरण मनोरञ्जनमा सीमित भएको छ।”
उनीहरूले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तह, समुदाय र युवाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
“सहकार्य र समन्वय बिना मौलिक परम्परा जोगाउन सकिँदैन,” काउचाले जोड दिए। रासस







