काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा राखिएको घटनाबारे छलफल गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्कालाई मंगलबार बोलाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई आयोगमा उपस्थित हुन भनिएको हो।
जबरालाई नियन्त्रणमा लिएको विषयमा आइतबार टेकुस्थित कार्यालय पुगेको आयोगको टोलीलाई अनुगमन गर्न नदिइएको घटनाबारे पनि उनीसँग छलफल हुनेछ।
आयोगको टोलीले टेकुस्थित कार्यालयमा करिब एक घण्टा प्रतीक्षा गरे पनि जबरालाई भेट्न नपाई फर्कनुपरेको थियो। आयोगले आइतबार नै विज्ञप्ति जारी गरी टोलीलाई अनुगमन गर्न नदिइएकोमा आपत्ति जनाएको थियो।






