काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका छन्।
अन्तर व्यवस्थापिका संघ (आइपियू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा उनले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराएका थिए ।
त्यसक्रममा उनले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध बलियो रहेको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका संघ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग पनि भेट गरेका छन् । सो भेटमा उनले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए ।
जलवायु परिवर्तनको असरमा सहकार्य
यसैबीच, अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।







