काठमाडौँ। कप्तान रोहित पौडेलले शतक बनाएपछि आइसिसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओडिआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर युएईलाई २३४ रनको लक्ष्य दिएको हो ।
रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
युएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्धिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।
युएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा युएईले ६ खेल जितेको छ ।







