काठमाडौँ। निजामती अस्पतालका नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन्। ज्यालादारीमा काम गर्दै आएका १५० भन्दा बढी नर्स श्रमको उचित मूल्यांकन हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्।
श्रम शोषण भएको भन्दै अहिले देशभर नै नर्सहरूले आन्दोलन थालेका छन्। देशव्यापी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै निजामती अस्पतालका नर्सहरूले पनि २ घण्टा अस्पताल परिसरमा धर्ना दिँदै आएका छन्।
प्ले कार्ड लिँदै धर्नामा उत्रिएका नर्सले कर्मचारी स्वास्थ्य ऐन अन्तर्गत अनि पारिश्रमिक चाहिँ किन श्रमिक ऐन अनुसार ? भन्दै प्रश्न गरेका छन्।
त्यसैगरी योग्यता र अनुभवको अनुसार पारिश्रमिक कायम गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन्।
आन्दोलनरत नर्सहरूले उठाएका मागका सम्बन्धमा आवश्यक छलफल गरी निष्कर्षमा पुग्नका लागि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।
समितिले समस्या समाधानका लागि बिहीबार बैठक गरेको थियो। तर, बैठक निष्कर्षमा पुग्न भने सकेन। बैठक आजका लागि पनि बोलाइएको छ।







